१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


रसुवाका रसिला स्याउ : पहिलो वर्षकै उत्पादनले किसान उत्साहित

७९ लाखमा व्यवसायिक खेती सुरु

0
Shares

मनिता रेग्मी कोइराला
रसुवा । एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ । हिमाली क्षेत्रमा उत्पादन हुने यी स्याउहरू लगाउन गत वर्ष ७९ लाख रुपैयाँ लगानी गरिएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बागमती प्रदेश सरकारकोे ५० प्रतिशत आर्थिक अनुदानमा स्याउको विरुवा ल्याएर खेती गरिएकोे हो । जिल्लाका १६ किसानले सामूहिक रूपमा २ सय ४१ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर खेती गरेको किसान काल्साङ तामाङ बताउनुहुन्छ ।

अन्य प्रजातिका स्याउ उत्पादन नभइरहेको अवस्थामा गत वर्ष रोपिएका स्याउले उत्पादन दिन थालेपछि किसान उत्साहित भएका छन् । यद्यपि विरुवा पूर्ण रूपमा विकसित नहुँदा लटरम्म फले पनि बोटले थेग्न नसकेपछि सानैमा झरेका छन् ।

उत्पादन राम्रो हुने भएपछि पाँच करोड रुपैयाँ लगानी गर्ने र सात हजार विरुवा थप्ने तामाङको योजना छ । जंगलको छेउमा खेती भएकाले जंगली जनावरबाट खेती जोगाउन हम्मे–हम्मे पर्ने गरेको छ । यद्यपि किसानहरूले पन्ध्र सय मिटर तार जाली लगाइसकेका छन् भने असिनाबाट जोगाउन थप जाली लगाइने उहाँको भनाइ छ ।

इटाली र स्पेन लगायतका देशमा पाइने फुजी स्याउको विरुवा नेपालमा पाइने विरुवा भन्दा बढी महङ्गो पर्ने किसान बताउँछन् ।

केहि समथर र पानी भएको स्थानमा मात्र फल्ने फुजी स्याउ यहाँका किसानले पाखो र भिरालो जमिनमा पनि उत्पादन गर्दै आएका छन् । स्थानको सहज उपलब्धता भएर स्याउको उत्पादन बढाउन सके किसानहरूको आम्दानी पनि बढ्ने देखिन्छ ।