२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


सुनसान सिंहदरबार : रित्तै छन् मन्त्री र सचिवालयका कुर्सी

सोफामा सुतेर गेम खेल्छन् कर्मचारीका सन्तान

0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । सरकार विस्तार नहुँदा सिंहदरबार धाउने मानिसको संख्यामा समेत कमी आएको छ ।

मन्त्रालय बेहुली अन्माएको घरजस्तै बनेका छन् । मन्त्रीका सचिवालयमा विभागीय मन्त्रीमा प्रधानमन्त्रीकै बोर्ड टाँगिएका छन् । तर, सचिवालय बेवारिसे जस्ता लाग्छन् ।

मन्त्री हुँदा पाइलो सम्म राख्न ठाउँ नहुने यी सचिवालय अहिले फुङ्ग उडेका छन् । यदि सबै मन्त्रालयमा मन्त्री भइदिएको भए सिंहदरबारमा अर्कै चहलपहल हुन्थ्यो । गठबन्धन दलका कार्यकर्ताको बाक्लो ओहोरदोहोर चल्थ्यो । त्यसो त विभागीय मन्त्री रहेका गृह, अर्थ, स्वास्थ्यमा अरु मन्त्रालयको तुलनामा बढी चहलपहल देखिन्छ ।

अझै मन्त्री आउने ठेगान नभएको र कतिबेला कहाँ सरुवा भएर जानुपर्ने भन्ने त्रासले सचिवमा काममा ध्यान कम छ । सोमबार दिउँसो १२ बजे मन्त्रालय पुग्दा केही कर्मचारी काममा व्यस्त थिए । कर्मचारीका अधिकांश कुर्सी खाली थिए । कुर्सीमा रहेका कतिपय सामाजिक सञ्जालमा व्यस्त देखिन्थे ।

ईमेजको क्यामेरा तेर्सिएपछि काम गरेको अभिनय गर्ने कर्मचारी पनि भेटिए । खानेपानी मन्त्रीको निजी सचिवालयमा देखिएको दृश्य हेर्न लायक थियो । एक जना बच्चा सोफामा सुतेर मोबाइलमा गेम खेल्दै थिए ।

राजनीतिक दलका नेता कार्यकर्ताका लागि सिंहदरबार शक्ति र सत्ताको तुजुक देखाउने थलो हो । गठबन्धन दलहरूको हिसाव किताव नमिल्दा दुई महिनासम्म पनि सरकार विस्तार हुनु सकेको छैन । त्यसको प्रत्यक्ष असर मन्त्रालयको दैनिक कामकाजमा परेको छ ।

सिंहदरबारको मूल ढोकाबाटै लाग्ने मेला अहिले पातलिएको छ । यद्यपि सिंहदरबारको सुरक्षा जिम्मेवारी लिएर बसेको प्रहरी सिंहदरबार भित्रिने मानिसमा कमी नआएको दावी गर्छ । सिंहदरबारको सुरक्षामा रहेका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डे, मन्त्रालयका कर्मचारी नियमित आइरहेको र सेवाग्राहीको संख्या पनि नघटेको बताउनुहुन्छ ।

मन्त्री नहुँदा उसले गर्ने कामको जिम्मेवारी कानुनले सचिवलाई दिएको छ । तर, जोखिम मोल्न तयार नहुने कर्मचारीतन्त्रका कारण मन्त्री हुनु र नहुनुबीच आकास जमिनको फरक पर्ने भुक्तभोगीहरूको निष्कर्ष छ ।