काठमाडौं । थारू समुदायले अटवारी पर्व आज धुमधामका साथ मनाउँदै छन् । अष्टमीपछि चन्द्रमादेखिने बित्तिकै अटवारी पर्व मनाउने गर्दछन् ।
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । सूर्य अर्थात् शक्तिको उपसनाको लागि पनि यो पर्व मनाउने गरिन्छ। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् ।
अटवारीकाे सुरु हुनुअघि दर खाने चलन छ । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यस पर्वमा थारु समुदायका पुरुषहरु पनि पानी समेत नखाइ व्रत बस्ने गर्छन्। भोलिपल्ट अर्थात अटवारीको दोस्रो दिन बिहान नहुवाईधुवाई गरेर आफ्नो लागि चोखो खानेकुरा आफैँ पकाएर खाने चलन छ। यसरी पकाइएकाे परिकार पूजा गरिसकेपछि खाने गर्दछन् । अटवारीमा रोटी, काँक्रा, दही, केराजस्ता स्थानीय परिकार खाइन्छ।
त्यस्तै, पाँच वा सात प्रकारका तरकारी पकाउने चलन छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । यसरी पकाएकाे खाना चाेखाे ठाउँमा बेसर व्रतालुहरुले खाने गदछन्। खानु अघि खानेकुरा छुट्याएको हुन्छ । त्यसरी छुट्याएको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ । त्यसलाई कोसेलीका रुपमा लिएर छोरीका घरमा जाने चलन छ । अग्रासन लिएर आफ्ना चेलीको घरमा जाने गर्दछन् । यसलाई दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतिकको रुपमा पनि लिने गरिन्छ ।
अटवारीको अवसरमा आज लुम्बिनी प्रदेश सरकार दाङ, बाँके, बर्दिया जिल्लामा बिदा दिएको छ। त्यस्तै, घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास राज्यमन्त्री डिल्लीबहादुर चौधरी पनि व्रत बस्नु भएको छ । उहाकाअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीच युद्धका नायक भीमसँग समेत जोडेर यो पर्व थारु समुदायले मनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्