
काठमाडौं, साउन १६ । नयाँ शक्ति पार्टीले वर्तमान सरकार बिचौलियाको पकडमा परेको आरोप लगाएको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ पार्टीकी केन्द्रीय सदस्य कल्पना धमलाले सरकार सर्वहारा वर्गको हीतमाभन्दा सत्ता एकाधिकारको विधि निर्माणमा लागिरहेको आरोप लगाइन् ।
मौलिक हकसम्बन्धी कानुन निर्माण गरेर जनताका हक सुनिश्चित गर्नुपर्ने कार्यभारलाई थाँती राख्दै पानीजहाज, रेलजस्ता महत्वाकांक्षी सपनाहरु बाँड्दै हिँड्ने गरेको तर व्यवहारमा राजधानीका सडकमा भएका खाल्डासमेत पुर्न नसकेको उनको आरोप थियो ।
यस्तै, नेपाली कांग्रेसकी सांसद धना खतिवडाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्नभन्दा पनि संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत रहेको आरोप लगाइन् ।
दुईतिहाइको दम्भले संविधान र जनहितविपरीतका कामहरुतर्फ सरकारको ध्यान बढेको भन्दै उनले मनपरी ढंगल बढाइएको कर फिर्ता गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्नुपर्ने तथा सन्चारमाध्यममाथिको नियन्त्रण प्रयास रोक्नुपर्ने माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्