Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


ट्याक्टरमै सुत्केरी, गाउँपालिकामा छैन एम्बुलेन्स


0
Shares

कपिलवस्तु, पुस ५ । कपिवस्तुको विजयनगर गाउँपालिका–५, कटुवागाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन् ।

सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउनेक्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन् ।

शनिबार बिहान विजयनगर गाउँपालिका–५, कटुवागाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नम्बरको ट्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्याक्टरमा नै छोरा जन्माएकी हुन् ।

विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन ।

गर्भवती महिला त्यो पनि सुत्केरी ब्यथाले च्यापेको अवस्थामा ट्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो ।

चन्द्रौटा होटलअगाडि बीच सहरमा उर्मिलालाई ब्यथाले च्यापेपछि बच्चा जन्मिएको हो ।

बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाकी सासू कमलावती कोरीले बताइन् ।

गाउँमा एम्बुलेन्स नहुँदा ट्याक्टरमा ल्याउँदा यो जाडोयाममा बच्चा जन्मिएको उनले बताइन् ।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएको छ ।

‘गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरिद नगर्दाको आफूजस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेका छन्’–स्थानीवासी कलम कोरीले भने–‘भगवान्को कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो ।’

स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाइ छ ।

यता, विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र सन्चालनका लागि प्रयास र पहल भने नगरेको होइन ।

यो आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यो वर्ष दातृनिकायबाट सहयोग प्राप्त भयो भने दुईओटा एम्बुलेन्स सन्चालन हुने गाउँपालिकाले जनाएको छ । रासस