
कास्की, पुस ५ । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पूरै ओभर खेल्दै ५ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रनमात्र जोड्न सफल भयो ।
चार खेल खेलको काठमाडौं दुई खेलमा जित तथा दुईमा हारसँगै ४ अंक जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान ४ अंक रहे पनि रनरेटमा काठमाडौं अघि छ ।
काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग ‘सुपर ओभर’मा पराजित भएको थियो । तेस्रो खेलमा धनगढीलाई पराजित गरेको थियो ।
विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भएको थियो ।
इनिङ्सको १.४ ओभरमा सुरुआती ब्याट्सम्यान मुहमद जैद आलम र सुनिल धमला मात्र ४ रन जोडेर बाहिरिएपछि विराटनगरले खराब सुरुआत गर्यो ।
तर, मध्यक्रममा ब्याटिङ सम्हाल्न आएका नोमान खान र पुनित मेहराले सातौं विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङमाथि उकासे पनि जितका लागि पर्याप्त हुन सकेन ।
मेहराले ३१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका थिए भने खानले २६ बलमा २५ रन जोडे ।
त्यस्तै, तेस्रोक्रममा ब्याटिङमा आएका कप्तान प्रदीपसिंह ऐरीले २७ बलमा २९ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन लिन सकेनन् ।
काठमाडौंका सुबोध भाटीले ३ तथा अमर रौटेला र वसन्त रेग्मीले समान २ र अमृत भट्टराई र सुशान भारीले एक/एक विकेट लिएका थिए ।
काठमाडौंका सुरुआती ब्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा खाता नै नखोली पेभिलिएन फर्किएपनि कप्तान ज्ञानेन्द्र मल्ल र जयकृष्ण कोल्सावालाले टोलीका लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दै टोलीका लागि सम्मानजनक स्कोर तयार गर्न योगदान दिएका थिए ।
पुनित मेहराको बलमा शाह आलमबाट क्याचआउट हुनुअघि कोल्सावालाले ४३ बलमा ५५ रन अर्धशतक तयार गरेका थिए । मल्लले तीन चौका र दुई छक्कासहित ३३ बलमा ४५ रन जोडेका थिए ।
विराटनगरका मेहराले २ तथा किशोर महतो, जितेन्द्र मुखिया र नोमान खानले एक/एक विकेट लिन सफल भए । रासस
प्रतिक्रिया दिनुहोस्