
चेन्नाई, पुस ५ । संशोधनसहितको नागरिकतासम्बन्धी नयाँ कानुनको विषयलाई लिएर आज (शनिबार) पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
आज सो कानुनको विरोधमा विभिन्न संघ–संगठनले संयुक्तरुपमा केन्द्रीय रेलवे स्टेसनमा बृहत् प्रदर्शन गरेका छन् ।
ती सबै संगठनहरु नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानुनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।
कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ ।
भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चारजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
भारतीय सन्चारमाध्यमका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
प्रदर्शनका कारण राजधानी नयाँदिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका सहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टेलिभिजनहरूले उल्लेख गरेका छन् ।
प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ ।
केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताइएको छ ।
सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो ।
नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्