काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताउनुभएको छ ।
संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएको बताउँदै संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो ।
‘सफल हुन हामी आफू प्रयास गर्ने हो, बास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको धज्जी उडेको छ, सभामुखको यो भूमिका आफ्नो मर्यादा भन्दा बाहिर छ,’सांसद चौधरीले भन्नुभयो, ‘संसदीय मर्यादा भनेको एउटा सांसद सदन भित्र उठ्यो भने त्यसलाई अवरोधको संज्ञा दिइन्छ ।’
उहाँले सभामुखले गुरिल्ला पारा देखाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘संसद भित्रको प्रमुख प्रतिपक्षले समग्र सांसदहरुले आवाज उठाउँदा देशको महत्वपूर्ण विषयहरुमा पनि कम्तिमा कार्यव्यवस्था परामर्श समितिको पनि छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिकन संसद यो तरिकाले चलाउनुको शैली के हो भने १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिको साथ सभामुखले जुन काम गर्नुभएको छ, यो संसदीय मर्यादाको धज्जी उडाउनुभएको छ ।’
रोस्टममा जान खोजेको पत्रकारको प्रश्नमा सांसद चौधरीले अर्थमन्त्रीलाई बजेट पेश गर्नबाट रोक्नका लागि रोस्टममा जाने ध्येय रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको आरोप लगाउनुभयो ।







प्रतिक्रिया दिनुहोस्