१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


नयाँ बन्दीगृह संचालनमा आएन, कैदीबन्दी कोचिएर पुरानै भवनमा बस्न बाध्य


0
Shares

-उपेन्द्र खनाल/ईमेज

तनहुँ । जिल्ला कारागार तनहुँको बन्दीगृह भवनको निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन ।

कारागार परिसरमा तीनवटा नयाँ भवन बनेको छ । तर भवन संचालनमा नआउँदा कैदीबन्दी भने कोचिएर पुरानै भवनमा बस्न बाध्य छन् ।

कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह निर्माण गरिएपनि भवन हस्तान्तरण नहुँदा जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई सार्न सकिएको छैन ।

आठ करोड लागतमा बन्दीगृह निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भैसके पनि भवन हस्तान्तरण भने हुन सकेको छैन ।

प्रयोगमा आउन नसक्दा कैदीबन्दीहरु पुरानो भवनमा बस्न बाध्य छन् । जिल्ला कारागारका सुचना अधिकारी नारायण अधिकारीले भवन बनेपनि हस्तान्तरण नहुँदा समस्या भएको बताउँछन् ।

हस्तान्तरण गर्न बाँकी रहेको भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाले जिल्ला कारागार तनहुँलाई हस्तान्तरण गरिएपछि मात्रै सञ्चालनमा आउने छ ।

तर, निर्माणका सबै काम सकिएपछि पनि भवन प्रयोगमा नआउँदा कैदीबन्दीले समस्या भोग्दै आएका छन् ।

कारागार ब्यवस्थापन बिभागबाट अनुगमन पनि भैसकेको छ । तर बन्दीगृह संचालनमा ल्याउने सम्वन्धमा भने सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

छिटोभन्दा छिटो भवन संचालनमा ल्याई कैदीबन्दीलाई सार्न सके कारागार व्यवस्थापनमा सहज हुने चौकिदार बिष्णुहरी घिमिरे बताउँछन् ।

नवनिर्मित बन्दी गृहमा ८० जना अट्ने क्षमता छ । सुविधासम्पन्न बन्दीगृहमा किचन र डाइनिङ हलको छुट्टाछुट्टै ब्यबस्था छ ।

त्यस्तै शौचालय, चिसो, तातो पानी तथा बत्ती गएको अवस्थामा सोलारको समेत ब्यबस्था गरिएको छ । त्यस्तै बन्दीको सुरक्षाका लागि दुई वटा सुरक्षा पोस्ट बनाइएको छ ।

क्षमताभन्दा बढी बन्दी भएकाले भवन संचालनमा आएपछि सहज हुने कारागारका सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक पुर्णबहादुर नेपालीको भनाइ छ ।  ३५ जना क्षमताको कारागारमा अहिले १ सय ४८ जना बन्दी राखिएको छ ।

नयाँ बन्दीगृह संचालनको विषयमा कसैले चासो नदिँदा समस्या उत्पन्न हुनुका साथै भवनको सौन्दर्य समेत विग्रदै जान थालेको छ ।