काठमाडौं । निजी क्षेत्रको पहिलो नेपाली टेलिभिजन ईमेज च्यानलले आजदेखि औपचारिक रुपमा एचडी प्रविधिमार्फत प्रशारण यात्रा शुरु गरेको छ । आज बिहान आयोजित विशेष समारोहमा ईमेज ग्रूप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले एचडी प्रसारणको शुभराम्भ गर्नुभएको हो । सूचना प्रविधिमा आएको अभूतपूर्व उभारलाई आत्मसात् गर्दै अब हाम्रो नयाँ यात्रा शुरु भएको छ ।
ईमेज च्यानलको टेलिभिजन, एफएम र न्यूज पोर्टलको त्रिवेणी यात्रा नेपाली सञ्चारजगतको एउटा कोसेढुंगा हो । एकातिर निजीक्षेत्रको पहिलो टेलिभिजनको ऐतिहासिक साख अर्कातिर प्रविधिको नयाँ आयाम मानिने एचडी प्रविधिमा अनुवाद हुनुको यो क्षणलाई हामीले आत्मगौरवसंगै दायित्वबोधका रुपमा लिएका छौं ।
सूचना प्रविधिमा आएको अभूतपूर्व उभार हाम्रा लागि चुनौती र अवसर दुवै हो । दर्शकमा फेरिएको स्वाद र बढ्दो प्रतिस्पर्धामा आफूलाई अब्बल प्रमाणित गर्ने यात्रामा हामी जुटिसकेका छौं । सूचना, मनोरञ्जन र समाचारबाट उठेको ईमेजको जमिनलाई अब रियालिटी शोहरुले थप उर्वर बनाउने छन् । हेरिने, सुनिने र पढिने तीनैथरि स्वरुपमा यहाँहरुले ईमेजले गुणात्मक फड्को मारेको पाउनु हुनेछ ।
तपाईंका मन, मुटु र मस्तिकको आवाजलाई हामीले नासोका रुपमा स्वीकारेका छौं । दर्शक, श्रोता र पाठकको विश्वासलाई प्रसाद ठानेका छौं । हाम्रो संकल्प छ– तपाईंलाई गजूर मानेर हाम्रा श्रव्य दृश्य सामग्री निर्माण हुनेछन् । त्यसैले सवै पुस्ताका प्रतिनिधिलाई सुपाच्य खुराक पस्कने दायित्वलाई कम्पनीले जप, तप मानेको छ ।
ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शकमाझ पुगेको थियो । नेपालमा निजी टेलिभिजन प्रसारण अनुमति प्राप्त हुनु अघि नै निजी क्षेत्रको पहिलो प्रसारण संस्थाका रुपमा कार्यक्रम लिएर आएको ईमेज च्यानल दर्शकहरुको अपार माया र विश्वासका साथ क्रमशः विकास र विस्तार गर्दै निरन्तर अघि बढिरहेको छ । नेपाल टेलिभिजनको डेढ घण्टाको विहानी समय लिएर सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमसहित पहिलो पटक उपस्थित हुँदा यसका सामु थुप्रै प्रश्नहरु थिए । यद्यपि तपाई दर्शकहरुको माया र सद्भावले हामी चुनौतीको सहजै सामना गरेर अझ उचाइका साथ यात्रा अघि बढाउन सफल भयौं ।
प्रसारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियलमाध्यमबाट ईमेज मेट्रो च्यानल प्रसारण सुरु ग¥यो । दर्शकहरुको अपार साथ र समर्थनको कदर गर्दै त्यसको ४ वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि इमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।
विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको मूल नारासहित अहिले इमेज च्यानल साताको सातै दिन चौबीसै घण्टा देशभर मात्र नभई विश्वका ७२ भन्दा बढी राष्ट्रमा आफ्नो प्रसारणलाई निरन्तरता दिइरहेको छ । यही निरन्तरतामा एचडी प्रविधि प्रगतिको जगमा थपिएको अर्को इँटा हो ।
एचडी प्रसारणको औपचारिक शुभारम्भसँगै प्रसारण संरचना, प्रविधि र प्रस्तुतिमा पनि परिवर्तन हुँदैछ । हामी अब दृश्यमा अझ सफा र प्रष्ट हुनेछौं भने विषयवस्तुको उत्पादन र प्रसारणलाई थप विविधतायुक्त र गुणस्तरीय बनाउने छौं । हामीलाई विश्वास छ– ईमेज च्यानल एचडी प्रसारणसंगै अब दर्शकको पहिलो रोजाईमा पर्नेछ ।
यस सुखद् अवसरमा इमेज च्यानल सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सवै महानुभाव र सहकर्मीहरुप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । र, भावी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ ।
प्रतिक्रिया दिनुहोस्