
पोखरा, पुस ४ । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज्ले लगातार तेस्रो जित हासिल गरेको छ ।
चितवनले शुक्रबार एक्सपर्ट धनगढीमाथि ५२ रनको जित निकालेको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको चितवनले ५ विकेटको क्षतिमा एक सय ८१ रन बनायो ।
आरिफ शेखले २० बलमा अविजित रहँदै ४७ तथा सन्नी पटेलले १७ बलमा अविजित ३२ रन बनाएको इनिङ्समा बाबर हायतले ३६ तथा पारसले २३ रन जोडे ।
कप्तान दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २-२ विकेट लिए । जवाफमा धनगढीले ८ विकेटको क्षतिमा एक सय २९ रनमात्र बनाउन सक्यो ।
कप्तान दिपेन्द्रले सर्वाधिक ४९ रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए । करण केसी र सनी पटेलले २-२ विकेट लिए ।
यता साविक विजेता पोखरा पल्टनले लगातार तेस्रो हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई हराएको शरद भेषावकर कप्तानीको पोखराले त्यसपछिका सबै तीन खेल हारेको हो ।
पोखरालाई शुक्रबार बुटबल ब्लास्टर्सले ८ विकेटले हरायो । पहिले ब्याटिङ्ग गरेको पोखराले ५ विकेटको क्षतिमा एक सय २१ रन बनायो ।
रवि इन्दर सिंहले सर्वाधिक ४५ रन बनाएको इनिङ्समा हर्ष टोङ्कले २ विकेट लिए । जवाफमा बुटबलले १४ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको छ । अफ्ताबुदिन अहमदले ४६ बलमा ७५ रन जोडेका छन् ।
यो खेलपछि चितवन ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ भने बुटबल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । ६ टोली सहभागी लिगमा काठमाडौं, विराटनगर टाइटान्स, पोखरा र धनगढीको समान २ अंक छ ।
प्रतिक्रिया दिनुहोस्