
काठमाडौं, साउन १६ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्व. कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व. नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व. जोशीले कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।
बैठकले स्व. जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
नेता जोशीको मंगलबार निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्