
पोखरा, पुस ३ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार चितवनले पोखरा रंगशालामा भएको खेलमा बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले हराएको हो ।
पीपीएलमा यो अहिलेसम्मकै फराकिलो नतिजा हो ।
चितवन अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने एकमात्र टोली बनेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।
युएईका खेलाडी रोहन मुस्तफा र कप्तान पारस खड्काबीच पहिलो विकेटका लागि ११७ रनको साझोदारी गर्नेक्रममा रोहनले अविजित रहँदै ५६ बलमा ७० रन बनाए भने पारसले ४० बलमा ६३ रन जोडे ।
आरिफ शेखले १९ बलमा ४० रनको योगदान दिए । सन्नी पटेल ४ रन जोड्दै अविजित रहे ।
जवाफमा बुटबलले १८ ओभर ४ बलमा ‘अलआउट’ हुँदै ८४ रनमात्र बनाउन सक्यो ।
शिवम सिंहले सर्वाधिक ३३ रन बनाए ।
बुटवलको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा चितवनका करण केसीले ३ ओभर ४ बलमा ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, अलराउन्डर रोहन मुस्तफाले २ विकेट झारे ।
चितवन शीर्ष स्थानमा
यो खेलपछि चितवन दुई खेलबाट शतप्रतिशत नतिजा निकाल्दै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
६ टोली सहभागी प्रतियोगितामा बाँकी सबै टोलीको २/२ अंक रहेको छ ।
कीर्तिमानी फराकिलो अन्तरको हार व्यहोरेको बुटबल ‘रनरेट’का आधारमा पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्