८ असार २०८१, शनिबार | Sat Jun 22 2024


युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव


0
Shares

काठमाडौं, साउन १६ । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए ।

उनले विश्वमा रहेको मापदन्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए । अहिले ऐनमा युवाको उमेर १६–४० वर्ष रहेको छ ।

नयाँ उमेर संशोधनका लागि युवा तथा खेलकुद मन्त्रालयमा मस्यौदा पेस गरिएको छ ।

‘१६ र ४० वर्षको युवालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न सक्दैनन्’–उनले भने–‘त्यसैले उनीहरुको प्रतिस्पर्धा एकै समूहमा बनाउनका लागि उमेर घटाइएको हो ।’

संयुक्त राष्ट्रसंघको मापदन्डअनुसार युवाको उमेर १५–२५ वर्ष रहेको छ । अधिकांश देशले १६–३५ को वर्षलाई युवाको उमेर मानेका छन् ।

यसैगरी, परिषद्को ऐनमा जिल्ला युवा विकास समितिलाई खारेज गरिएको छ ।

संघीय संरचनाअनुसार केन्द्रमा राष्ट्रिय युवा परिषद्, प्रदेशमा प्रदेश युवा परिषद्, हरेक स्थानीय तहमा गाउँ/नगर युवा विकास परिषद् बनाउने ऐनमा प्रस्ताव गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी दिए ।

उनले खारेज गरिएको जिल्ला युवा समितिलाई एक वर्षभित्र हटाइने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला युवा परिषद्लाई खारेज गर्दै जिल्ला समन्वय समितिमा राख्ने निर्णय गरेको थियो । अहिले ७७ जिल्लामा जिल्ला युवा विकास समिति रहेका छन् । रासस