प्रकाश नेपाल
इलाम । एक दशक अघि सीमित क्षेत्रमा मात्र खेती हुँदै आएको किविको विस्तारसँगै बिरुवाको माग बढेपछि किसानहरुको किविका बिरुवा नर्सरीमा आर्कषणसमेत बढेको छ । सरकारले इलाम नगरपालिका र सन्दकपूर गाउँपालिका भित्र किवि खेती विस्तारसँगै व्यवसायीकरण गर्न किवि जोन घोषणा गरी किसानलाई बिरुवा उत्पादनमा पनि सहयोग गर्दै आएको छ ।
नेपाल भारत र भुटानको पहाडी क्षेत्रमा किवि खेती विस्तार हुन थालेपछि इलामको किवि पकेटको रुपमा चिनिएको सुलुबुङ क्षेत्रका किसानहरुले अहिले व्यवसायिक किवि खेतीसँगै बिरुवा उत्पादनबाट आम्दानी लिन थालेको किवि खेतीका अगुवा किसान तारामण खतिवडाले बताउनुभयो ।
भारत र भुटानबाट बिरुवाको माग बढेछि घरैपिच्छे किसानहरुले किविको नर्सरी राखेका छन् । ५ वर्ष अघि किविका बिरुवा प्रतिगोटा ७ सय रुपैयाँमा किनबेच हुँदै आएपनि अहिले तीन सय ५० सम्ममा बिक्री हुँदै आएको छ । किसान आफैंले नर्सरी राख्ने काम गरेपछि मागका आधारमा आपूर्ति गर्न सक्ने अवस्थामा किसानहरु पुगेका छन् । कोरोना महामारी अघिसम्म भारत र भुटानमा समेत किविको विरुमा निर्यात हुँदै आएको थियो ।
किविको बिरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किवि किसानहरुको भनाइ छ । चीनबाट पहिलो उत्पादन सुरु भएको किविको अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति हुँदै आएको छ ।
विभिन्न १७ प्रकारका भिटामीन पाइने किविको बजारिकरणसँगै वेर्ना उत्पादनले किसानहरुको आयस्तरमा समेत सहयोग पु¥याएको छ । त्यसैले किसानहरुको माग अनुसार सरकारले किवि खेतीकालागि बिशेष योजना ल्याउन सके इलामका किसानहरु किवि खेतीबाट आत्मर्निभर हुने थिए ।
प्रतिक्रिया दिनुहोस्