१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


भारतीय क्याम्प अफिस खुल्लै


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, साउन १६ । भारतले विराटनगरमा राखेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको जनाएपनि अझै खुल्लै रहेको छ ।

अफिसभित्र राखिएको भारतीय झन्डा निकालिएको छैन भने क्याम्प अफिसभित्र सधैंझैं कर्मचारी भरिभराउ छन् ।

विराटनगरको मलायरोडमा रहेको भारतीय क्याम्प पहिलाकोजस्तै सुरक्षागार्डको घेरामै राखिएको छ । क्याम्पभित्र सन्चारकर्मीलाई प्रवेश दिइएको छैन ।

क्याम्पका कर्मचारीले अफिस बुधबारदेखि बन्द गरिएको जानकारी गराएपनि थप सूचना दिन नमिल्ने बताएका छन् । अफिसमा रहेका सामग्रीहरु उठाउने काम भइरहेको उनीहरुको भनाइ छ ।

भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिबिनै क्याम्प स्थापना गरेपछि हटाउन दबाब परेको थियो ।

भारतीय दूतावासले यसअघि नै विज्ञप्ति निकाली बुधबारदेखि क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूतावासबाटै हुने जनाएको थियो ।

सप्तकोसी नदीको बाँध फुटेपछि त्यसैको बहानामा वि.सं. २०६५ भदौ ४ गते भारतले सो अफिस खडा गरेको थियो ।

सो समयमा कोसी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो ।

नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिट दिन कार्यालय खोलिएको थियो । तर, पछि त्यसलाई विराटनगरमा सारिएको हो ।