३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग, बहुमत सांसदले गरे पक्षमा मतदान


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ ।

अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका छन् ।

नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।

अब माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ ।

सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मतदान अघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा तातो बहस भएको थियो ।

बहसको सुरुमा बोल्दै सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएकाले महाभियोग लगाउनुको विकल्प नभएको जिकिर गरेका थिए ।

तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् ।

राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग गरेको कुराकानीबारे संसद्ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ ।

विगतमा दुईजना राष्ट्रपति बिल क्लीन्टन र एन्ड्रिउ जोन्सन विरुद्ध महाभियोग लगाइएको थियो । (एजेन्सी)