काठमाडौं, पुस २ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा निर्यातमा २४ प्रतिशत बराबरले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनासम्मको तथ्यांकमा कात्तिक चार महिनामा पनि निर्यातमा वृद्धि र आयातको वृद्धिदरमा केही कमी आएको उल्लेख गरिएको हो ।
यस अवधिमा आयातमा ६.९ प्रतिशतले कमी आउँदा निर्यात २३.९ प्रतिशतले बढेर ३६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा निर्यातमा ११ प्रतिशतले वृद्धि भएको थियो ।
यस अवधिमा आयातमा ६.९ प्रतिशतले कमी आएको छ । यस अवधिमा आयात चार खर्ब ५० अर्ब बराबरको भएको छ । अघिल्लो वर्षको यसै अवधिमा आयात ३८.५ प्रतिशतले वृद्धि भएको थियो ।
आयात कम हुँदै गएपछि चालू खाता घाटा पनि कम हुँदै गएको छ । समीक्षा अवधिमा चालू खाता घाटा ३७ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
यस्तै, यसै अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
यस अवधिमा विपे्रषण आप्रवाहमा भने २.३ प्रतिशतले कमी आएको छ । विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी ३०४ अर्ब ९७ करोड कायम रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३६ प्रतिशतले बढेको थियो ।
यस अवधिमा मूल्यवृद्धि ५.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो ।
असोज महिनाको तुलनामा भने मूल्यवृद्धि केही घटेको हो । असोजमा मूल्यवृद्धि ६.२१ प्रतिशत रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्