
काठमाडौं, पुस २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबले विजयी सुरुआत गरेको छ ।
बुधबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित गर्दै मनाङले उत्कृष्ट सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दुवै गोल विमल रानाले गरे । दुवै गोल मध्यान्तरअघि नै भएका थिए ।
थ्रीस्टार–जावलाखेल बराबरी
बुधबारै भएको खेलमा अर्को दावेदार थ्रीस्टार क्लब भने पहिलो खेलमै बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टार जावलाखेल युथ क्लबसित गोलरहित बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा पाएको अवसर सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।
पाँच टोलीको विजयी सुरुआत
पहिलो चरणको समाप्तिसम्म पाँच टोलीले विजयी सुरुआत गरे । पाँच टोलीले हार व्यहोरे । चार टोलीले बराबरी खेलेका छन् ।
गोल अन्तरका आधारमा न्यूरोड टिम (एनआरटी) ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । ३ अंक नै बटुलेका मच्छिन्द्र, च्यासल, मनाङ र त्रिभुवन आर्मी क्लब क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
नेपाल पुलिस, हिमालयन शेर्पा, थ्रीस्टार र जावलाखेलले गोलरहित बराबरी खेल्दै एक/एक अंक बटुलेका छन् ।
सशस्त्र, संकटा, फ्रेन्ड्स, ‘बीबीसी’ र सरस्वती युथ क्लबले हार व्यहोरेका छन् ।
बिहीबार खेल छैन । शुक्रबार मध्याह्न १२ बजे एन्फा कम्प्लेक्समा च्यासल र मच्छिन्द्र तथा दिउँसो ३ बजे बीबीसी र फ्रेन्ड्स खेल्नेछन् ।
१४ टोली सहभागी लिग आउँदो फागुन ३ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्