
पोखरा, पुस २ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा स्थानीय टोली पोखरा पल्टनले लगातार दोस्रो हार व्यहोरेको छ ।
बुधबार भएको दोस्रो खेलमा पोखराले विराटनगर टाइटान्ससित ४५ रनको हार व्यहोरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले भारतीय खेलाडी पुनित मेहराको अविजित ६१ रनको मद्दतले २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
पोखराका कप्तान शरद भेषावकरले २ विकेट लिए ।
जवाफमा पोखराले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाए ।
पोखरालाई सस्तैमा समेट्नेक्रममा विराटनगरका किशोर महतोले सर्वाधिक तीन विकेट लिए ।
उद्घाटन खेल जितेको पोखराको यो लगातार दोस्रो हार हो भने पहिलो खेल हारेको विराटनगरको यो पहिलो जित हो ।
ज्ञानेन्द्रको शतक, काठमाडौंको शानदार प्रदर्शन
लगातार दुई हारपछि काठमाडौं गोल्डेन वारियर्स खेलमा फर्किएको छ ।
बुधबारै भएको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतक बनाएपछि काठमाडौंले एक्सपर्ट धनगढीलाई १०६ रनको फराकिलो अन्तरले हरायो ।
१७ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
ज्ञानेन्द्रले ३८ बलमा ९ छक्का र ८ चौकाको मद्दतले १०० रन बनाए । पीपीएलको दोस्रो संस्करण चलिरहँदा यो पहिलो शतक हो ।
जवाफमा धनगढीले १६ ओभरमै ‘अलआउट’ हुँदै ७९ रनमात्र बनाउन सक्यो ।
दुई खेलाडीले मात्र दोहोरो रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा काठमाडौंका वसन्त रेग्मीले ३ तथा पवन सर्राफ र सुबोध भाटीले २/२ विकेट लिए ।
समान २/२ अंक
यी खेलपछि सहभागी सबै ६ टोलीको समान २/२ अंक भएको छ । एक खेलमात्र खेलेको चितवन वारियर्स रनरेटमा अगाडि छ । तीन खेलबाट काठमाडौं दोस्रो तथा तीन खेलबाटै पोखरा तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्