Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण राष्ट्रिय सम्पत्तिको लूटः ट्रान्सपरेन्सी इन्टरनेशनल


0
Shares

काठमाडौ, पौष २ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले गोकर्ण रिसोर्टका बारेमा सरकारले हालै गरेको सम्झौता खारेज गर्न आग्रह गरेको छ ।

टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले बुधबार विज्ञप्ति निकाली सरकारले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिब तीन हजार रोपनी जग्गा अपारदर्शी ढंगले यति होल्डिङ्सलाई दिइएको भन्दै आपत्ति जनाएका हुन् ।

पुरानो सम्झौताको अवधि २०८२ श्रावण मसान्तसम्म झण्डै ६ वर्ष बाँकी नै रहँदा अत्यन्त अपारदर्शी ढङ्गबाट हतारमा पुरानै यति होल्डिङ्स प्रा.लि. लाई थप २५ वर्षका लागि लिजमा दिइएकोमा ध्यानाकर्षण भएको भन्दै टिआईले ‘भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने’ सरकारको दावी यस निर्णयले निरर्थक देखिएको पनि उल्लेख गरेको छ ।

‘सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ्य प्रतिस्पर्धा बिना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्म विपरित कुनै एउटा ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गर्ने कार्य कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार देखिदैन’, विज्ञप्तिमा भनिएको छ ।

अर्को निर्वाचित सरकार आएपछि पनि कानुनसम्मत तरिकाले निर्णय गर्न सक्ने पर्याप्त समय बाँकी नै रहने अवस्थामा अपारदर्शी रुपमा हतार हतार तत्कालै यस्तो निर्णय गर्नुमा निर्णयमा संलग्न पदाधिकारीहरुलाई गलत तत्वले अनुचित प्रभावमा पारेको स्पष्ट देखिएको पनि टिआईले जनाएको छ ।

‘म आफुपनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भनी आमरुपमा प्रतिवद्धता ब्यक्त गरेका प्रधानमन्त्रीज्यूले राष्ट्रिय सम्पतिमा लूट मचइएको निर्णय फिर्ता लिई यसमा संलग्न पदाधिकारीलाई कानुन वंमोजिम कडा कारवाही गरी सुशासनको प्रत्याभुति दिन पनि ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष रेग्मीले माग गरेका छन् ।