४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


गाउँ नै शाकाहारी, घरैपिच्छे राता र सेता रङ्गका ध्वजा


0
Shares

प्रकाश नेपाल (ईमेज) 

इलाम, पुष २ । देवी देवताका नाममा होस् या मासु खाने प्रयोजनका साथ संसारका प्रायजसो ठाउँमा पशुपक्षीको बध गर्ने गरिन्छ । तर इलामको माङ्सेबुङ गाउँपालिका भने त्यसको अपवाद बनेको छ ।

जहाँ मठमन्दिर तथा धार्मिकस्थलमा बली निषेध मात्रै गरिएको छैन मासु तथा मदिराको प्रयोगसमेत गर्न पाइँदैन ।

इलाम जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका अन्तर्गत वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा गाउँको पहिचान आफ्नै छ ।

घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि देख्न सकिन्छ ।

पहिलो पटक त्यहा पुग्ने जो कोहीलाई अनौठो लाग्छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने पक्कै होइन ।

किराँतहरुको धार्मिकस्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । सो गाउँमा मासु जाँड, रक्सी खाइदैन ।

चार वर्ष अघि मासु, मदिरा निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको थियो जहाँ बाहिरबाट जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको स्थानीयको भनाइ छ ।

यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाइएको छ ।

किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ ।

सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका माङ्सेबुङ्ग गाउँपालिका वडा न ५ वडाध्यक्ष नरेन्द्रकुमार राई बताए ।

विशेष गरी लिम्बू समदायको बसोबास रहेको सो स्थानमा किराँत धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ ।

वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाइन्छ ।

दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ ।