Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


नेपाल बारले बोलायो सल्लाहकार समितिको बैठकः सर्वोच्चको अन्तरिम आदेशबारे छलफल हुने

संवैधानिक इजलाशको संवैधानिक परिषदसम्बन्धि मुद्दामा प्रधानन्यायाधीश उपस्थिति प्रकरण

0
Shares

काठमाडौं, भदौं १८ । नेपाल बार एशोसिएसनले सल्लाहकार समितिको बैठक बोलाएको छ । बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारेमा छलफल गर्न आइतबार सल्लाहकार समितिको बैठक बोलाइएको हो ।

महासचिव लिलामणि पौडेलका अनुसार, सर्वोच्चको विकृति विसंगतिबारे न्यायालयको प्रतिवेदन र पछिल्लो समयमा भएका आदेशका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा उपत्यकाका बारका अध्यक्ष एवं पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वमहान्यायाधिवक्ता लगायतलाई बोलाइएको हो ।

बिहीबार न्यायाधीश हरि फुयाँलको एकल इजलाशले संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलाशमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषय टुंगो नलागेसम्म अघि नबढाउन आदेश दिएको थियो ।

अघिल्लो शुक्रबार बसेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा आफै पनि संवैधानिक परिषदसम्बन्धि अध्यादेशमा संलग्न रहेको तथा नियुक्तिहरुमा समेत भागबण्डा लिएको भन्ने आरोप लागेकाले इजलाशमा बस्न नमिल्ने अडान रिट निवेदनकर्ताहरुले दिएका थिए ।

त्यसपछि राणाले यस मुद्दाको शुरु तथा फैसलाका दिन आफू उपस्थित नभई बिदामा बस्ने गरी बाटो फुकाउनुभएको थियो । शुक्रबार यसै मुद्दाको सुनुवाई तोकिएकामा बिहीबार भने फुँयालको इजलाशले यसबारे थप प्रष्ट हुनुपर्ने भन्दै टुंगो नलाग्दासम्म इजलाश बस्न नसक्ने अन्तरिम आदेश दिएको थियो ।