डम्मर बुढा मगर
बागलुङ । कोरोना महामारीको समयमा बागलुङमा हेलिप्याडको अभाव खड्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको मात्रै हेलिप्याड छ । हेलिप्याड नहुँदा कोरोना संक्रमितको उद्धारमा समस्या देखा परेको छ ।
सुरिक्षत स्थानको अभावमा धौलागिरी क्याम्पसको प्राङ्गणमा हेलिकप्टर ल्याण्ड गर्ने गरिएको छ । तर, सुरक्षाका दृष्टिले हेलिकोप्टरका लागि हेलिप्याड नै निर्माण गर्नुपर्ने हुन्छ ।
राष्ट्रपति उद्धार कार्यक्रमका लागि सरकारले वडा–वडामा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन । बागलुङमा कोरोना संक्रमणबाट ग्रसित दुई दर्जन बढी बिरामीलाई हेलिकोप्टरमार्फत पोखरा–काठमाडौं पठाइए पनि जिल्ला सदरमुकाममै हेलिप्याड नहुनु दुखद् हो ।
धौलागिरी अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजिएको भए पनि जग्गा अभावका कारण हेलिप्याड बनाउन नसक्दा क्याम्पसकै भर पर्नु पर्ने अवस्था आएको धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी रानाले बताउनुभयो । धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा हेलिकप्टर ल्याण्ड गर्दा पठनपाठनमा असर पर्दै आएको छ ।
क्याम्पसमा हेलिकोप्टर आउँदैछ भन्ने कुरा क्याम्पस प्रशासनलाई समेत सूचना नहुने धौलागिरी क्यापसका क्याम्पस प्रमुख डक्टर रामप्रसाद उपाध्यायले बताउनुभयो । हेलिकप्टर आउने भएपछि हेलिकप्टर हेर्नेको क्याम्पसमा भीड बढ्दा सुरक्षा चुनौतीसमेत बढेको क्याम्पस प्रशासनको भनाइ छ ।
सामाजिक अभियन्ता राम शर्माले हेलिप्याड बनाउने तर्फ कसैले ध्यान नदिँदा क्याम्पसमा ल्याण्ड गर्नु पर्ने अवस्था आएको बताउनुहुन्छ ।
बिरामीलाई आपतकालीन अवस्थामा हेलिकोप्टरबाट उद्धार गर्नु पर्दा सार्वजनिक तथा व्यक्तिगत जग्गामा हेलिकोप्टर ल्यान्ड गर्नु पर्ने बाध्यता छ । स्थानीय सरकारले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्