३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सिन्धुपाल्चोक दुर्घटनामा बाचेकी बालिका अझैं बेवारीसे, आफन्तको पर्खाइमा


0
Shares

सिन्धुपाल्चोका, पुष १ । आइतबार सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा बाँच्न सफल भएकी सात महिने बालिका अझै पनि आफन्तको पर्खाइमा अस्पतालमै छिन् ।

दुर्घटनामा आमा गुमाएकी उनका बाबु सोही बसका चालक रहेको र अहिले फरार भएकाले अस्पतालमै बस्न बाध्य भएकी हुन् ।

उनलाई सोही ठाउँको बलेफीस्थित सिन्धु सदावहार अस्पतालमा राखिएको छ । बालिकालाई प्रमाण पुर्‍याएर मंगलबार आफन्तको जिम्मा लगाउने अस्पतालको तयारी रहेको थियो ।

तर आफन्तले बुधबार लिन आउने भनेपछि उनलाई मंगलबार पनि अस्पतालमै राखिने भएको हो । यसअघि प्रमाण नपुगेको भन्दै अस्पताले बालिका जिम्मा लगाउन अस्वीकार गरेको थियो ।

बालिकाकी आमा सुनिता तामाङ बाबु सोही बसका चालक सुमन तामाङ रहेको प्रहरीले जनाएको छ । यस विषयमा सोमबार प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएका थिए ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाको छानविन गर्न निर्देशन दिएपछि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाइएको हो ।

गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि समेत रहेको समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै मन्त्रालयले विगतमा भएका दुर्घटनाहरुको अध्ययन गरी कारण, न्यूनीकरण र उपायबारे नीतिगत र संरचनागत सुधारबारे प्रतिवेदन बुझाउन अर्को समिति बनाएको छ ।

सिन्धुपाल्चोकको ६ किलोमा आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।