काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेल जितका लागि खेल्ने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए । ‘भारतीय टिम धेरै सशक्त छ, तर हामी पनि गोर्खाली हौं,’ उनले भने, ‘हामी बराबरीका लागि होइन, जितका लागि खेल्छौं ।’
नेपालका लागि ७३ औं खेल खेल्न लागेको कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारीरिक हिसाबमा तयार रहेको बताए ।
यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन्
प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केही परिवर्तन देखिए पनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।
साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले बिहीबार पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुवै टोली सुःखद् लक्ष्यका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।
कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेल ५ हजार १ सय दर्शकले मैदान प्रवेश गरेर हेर्न पाउनेछन् । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्