Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


महाधिवेशन भदौ १८ गतेबाटै सुरु हुन्छ, विवाद भएका जिल्लामा पछि हुन्छन्– प्रवक्ता शर्मा


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट सुरु हुने बताउनुभएको छ ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरूको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताउनुभयो । उहाँले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरूले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गर्नुभयो ।

महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनुपर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनुपर्ने कर्तव्य कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उहाँले अनुरोध गर्नुभयो । १८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन सुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताउनुभयो । यी समस्या बाहेकका जिल्लाहरूमा भने नेपाली कांग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै भूगोलमा कारणवश १८ गते शुरु हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९,२०,२१ आफ्नो अनुकुलता अनुसार गर्न सक्नुहुनेछ ।’

प्रवक्ता शर्माले अधिवेशन गर्न जाँदै गर्दा नेतृत्वको चयन गरेर नेतृत्वलाई लिएर आउने दायित्व र पार्टीलाई ऊर्जा भरेर रुपान्तरित कांग्रेस, रुपान्तरित देश बनाउने अठोट र अभियानमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्हास पूर्वक सहभागी बन्न, तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाउनुभयो ।