
पोखरा, मंसिर ३० । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले लगातार दोस्रो हार व्यहोरेको छ ।
ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं दोस्रो खेलमा सोमबार बुटवल ब्लास्टर्ससित ‘सुपर ओभर’मा हारेको हो ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं स्थानीय पोखरा पल्टनसित ९ विकेटले पराजित भएको थियो ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
पवन सर्राफले २१ बलमा अविजित रहँदै ३७ तथा जयकृशन कोल्सवालले २८ रन बनाएको इनिङ्समा बुटवलका नितेश थापाले २ विकेट लिए ।
जवाफमा सोमपाल कामी नेतृत्वको बुटवलले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा समान १४० रन नै बनायो ।
भारतीय खेलाडी हर्ष टंकले २९ बलमा ४५ तथा शिवम सिंहले २१ बलमा अविजित रहँदै ३३ रन बनाए ।
काठमाडौंका सुबोथ भाटी र सुसन भारीले समान २/२ विकेट लिए ।
सुपर ओभर
सुपर ओभरमा पहिले ब्याटिङ गरेको बुटवलले कुनै विकेट नगुमाइ १२ रन बनायो । जवाफमा काठमाडौंले एक विकेट गुमाएर २ रनमात्र बनाउन सक्यो ।
एक्सपर्ट धनगढी विजयी
सोमबारै भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटान्सलाई ५ रनले हरायो ।
दीपेन्द्रसिंह ऐरी नेतृत्वको धनगढीले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो ।
कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाएको इनिङ्समा विराटनगरका शहाब आलमले ३ विकेट लिए ।
जवाफमा प्रदीपसिंह ऐरी नेतृत्वको विराटनगरले २० ओभरमै ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सक्यो ।
राजु रिजालले सर्वाधिक २५ रन बनाएको इनिङ्समा कप्तान दीपेन्द्रले १९ रन खर्चेर ३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्