Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


पूर्वपश्चिम रेलमार्ग निर्माण प्रक्रिया अघि बढ्यो, यो वर्ष डेढ अर्बको बजेट


0
Shares

-धु्रव भट्टराई/ईमेज 

विराटनगर, मंसिर ३० । काममा अपेक्षित गति लिन नसकेको बहुचर्चित पूर्वपश्चिम रेल मार्गले अब भने गति लिने देखिएको छ ।

आयोजनाको डीपीआर तयार भई आवश्यक प्रक्रिया अघि बढेसँगै कामले गति लिने अपेक्षा गरिएको हो ।

सन् २००८ बाट नै पूर्वपश्चिम रेलमार्गको योजना बनाएर काम सुरु भए पनि विभिन्न नीतिगत तथा अन्य विवादले काममा अपेक्षित गति आउन सकेको थिएन ।

तर पछिल्लो समय सरकारले रेल निर्माणको कामलाई तीव्रता दिन आवश्यक तयारी थालेसँगै निर्माणले गति लिने विश्वास गरिएको हो ।

रेल आयोजनाले ९ सय ४५ किलोमिटरको पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि डीपीआर तयार पारी अर्थ मन्त्रालयसँग आवश्यक बजेटकोे मागसमेत गरिसकेका आयोजनाका इन्जिनियर सुमोद पोखरेल बताउँछन् ।

आयोजनाका अनुसार रेल मार्गलाई नौ खण्डमा विभाजन गरी काम अघि बढाउने  छ ।  यसमा थपिने सहायक मार्गहरुलाई समेत जोड्दा कूल १ हजार ३७६ मिलोमिटर लम्बाई हुनेछ ।

आयोजनाले ३ महिना अघि नै टेण्डर प्रक्रिया टुंग्याएको पुर्वी खण्डको इनरुवादेखि काँकडभिट्टासम्मको खण्डमा डीपीआर तयार र आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग आवश्यक सुझाव लिने काम पूरा गरेको छ ।

विराटनगरमा लिइएको सुझावमा स्थानीयले आफूहरुको सहकार्यमा काम गर्नुपर्ने माग राखेका छन् ।

यता विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि आयोजनालाई आवश्यक सहयोग गर्न स्थानीय सरकार पनि तयार रहेको धारणा राख्छन् ।

रेलमार्गको निर्माणको काम अघि बढाउन यो वर्ष झण्डै डेढ अर्ब बजेट छुट्याएको छ जसमा झण्डै ७० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च गरिने बताइएको छ ।

आयोजनाको डीपीआर निर्माण कार्य सकिए पनि बीचका विभिन्न क्षेत्रहरुमा विवाद कायमै छ ।

विशेष गरी आरक्षण र राष्ट्रिय निकुञ्ज क्षेत्रमा कसरी व्यवस्थापन गर्ने भन्नेमा अझै टुंगो लागिसकेको छैन । यस्तो अवस्थामा सबै पक्षसँग समन्वय गरी उचित निर्णय गर्नुपर्ने  देखिन्छ ।