२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेपालमा कोरोना : १३ प्रतिशतलाई खोप, ६८ प्रतिशतमा एन्टिबडी

मन्त्रालय भन्छ- 'एन्टिबडीले नयाँ भेरियन्टबाट बच्न काम नगर्न पनि सक्छ, सचेत बन्नुस्'

0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । करिव डेढ वर्षको कोरोना महामारीको अवधिमा नेपालमा २ दशमलव ८ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाउने र संक्रमण पुष्टि हुनेको संख्या जोड्ने हो भने १६ दशमलव २ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशित गरेको सेरोप्रिभ्यालेन्स सर्वेले ६८ दशमलव ६ प्रतिशत व्यक्तिको शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडी बनिसकेको देखाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेले दोस्रो संक्रमणमा निकै नै व्यक्ति संक्रमित भएको देखाएको बताउनुहुन्छ । परीक्षण कम भएको र लक्षणविना नै संक्रमित भएर प्राकृतिक रूपमा नै धेरै व्यक्तिमा एन्टिबडी बनिसकेको सर्वेक्षणले देखाएको उहाँको भनाइ छ ।

खोप लगाएका २ हजार व्यक्ति र खोप नलगाएका ६ महिनामाथि उमेर समूहका ११ हजार व्यक्ति सहभागी अध्ययनले ६८ दशमलव ६ प्रतिशत व्यक्तिको शरीरमा एन्टिबडी बनेको देखिएको हो । प्रत्येक प्रदेशबाट १५ सय जना गरी १३ हजार १ सय ६१ जनामा गरिएको सर्वेक्षणमा दुई तिहाइ नेपालीको शरीरमा एन्टिबडी बनेको मन्त्रालयको दावी छ ।

मन्त्रालयले गत असोज र कार्तिक महिना गरेको सेरोप्रिभ्यालेन्स सर्वेले १४ प्रतिशत व्यक्तिमा मात्र एन्टिबडी बनेको देखाएको थियो । सो अनुसार दोस्रो लहरमा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । हाल डेटा भेरियन्ट सबै भन्दा धेरै देखिरहेको छ । अल्फा, डेल्टा प्लस, कप्पा, गामा, भेरियन्ट समेत देखिसकेको छ ।

अहिले देखिएका भेरियन्ट विरुद्ध मानिसको शरीरमा एन्टिबडी बनिसकेको भन्दै डा. पौडेलले कति मात्रामा एन्टिबडी बनेको र अन्य भेरियन्टलाई यसले काम गर्छ कि गर्दैन् भन्ने विषय अध्ययन कै क्रममा रहेको बताउनुभयो । ‘अहिले बनेको एन्टिबडी यसअघिका भेरियन्टका हुन्,’ उहाँले भन्नुभयो, ‘अहिले आएका नयाँ भेरियन्टलाई त्यो एन्टिबडीले काम गर्छ वा गर्दैन भन्नेबारे अध्ययन भइरहेको छ ।’

सर्वेक्षणले कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्ति र एक डोज लगाएका ८० प्रतिशत व्यक्तिको शरीरमा एन्टिवडी बनेको देखाएको छ । संक्रामक रूपमा नयाँ भेरियन्ट देखियो भने यो एन्टिबडीले काम नगर्न पनि सक्ने भन्दै मन्त्रालयले थप सचेत हुन आग्रह गरको छ ।