
काठमाडौ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा क्रियासिल पाँच कर्मचारी युनियनहरुले सात दिन भित्र आफुहरुसंग भएको सम्झौता लागु नभए श्रम ऎन अनुसार आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
आइतबार केयूकेएलका प्रमुख कार्यकारी अधिकृतलाई भेटी सात दिन भित्र युनियनहरुसंग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयन नभए आन्दोलनमा जाने जानकारी गराएको केयूकेएल कर्मचारी संघका अध्यक्ष सन्त कुमार बोहोराले बताउनुभयो । कम्पनी व्यवस्थापनले क्रियासिल कर्मचारी युनियनहरुसंग २०७८ साउन ७ गते पेशागत मागहरू कार्यान्वयन गर्ने सहमति गरेको थियो ।
सम्झौतामा कर्मचारीले पाउदै आएको उपदान २ महिनाबाट ४ महिना पुर्याउने , सेवा अवधी ५८ वर्षबाट ६० वर्ष हुने, बिमा रकम वृद्धि गर्ने, करारबाट स्थायी भएका कर्मचारीको सेवा अवधी जोडिने , समय सापेक्ष खानेपानीको महसुल वृद्धि लगायत संस्थागत सुधार विषयमा सम्झौता भएको थियो । युनियनहरुसंग भएको सम्झौता कार्यान्वयनमा केयूकेएल बोर्डले कुनै चासो नदिएको कर्मचारी युनियनहरुको आरोप छ ।
सात दिन भित्र सम्झौता कार्यान्वयन नभए काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ , काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन, काठमाडौ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन , काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद् र काठमाडौ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले संयुक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्