१ असार २०८२, आइतबार | Sun Jun 15 2025


माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन २ महिनादेखि ठप्प, मर्मत गर्न अझै केही समय लाग्ने


0
Shares

काठमाडौं । माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो ।

विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोडभन्दा बढीको नोक्सानी भएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । आयोजनामा क्षति पुगेका संरचना मर्मतका लागि थप रकम खर्च हुने अधिकारीको भनाइ छ ।

दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै दुई महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको दुई महिनामा थप ६० करोड रुपैयाँ बढी आम्दानी गुम्ने देखिएको छ ।

नदीमा आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्रदेखि पावरहाउससम्मको संरचनामा क्षति पुगेको थियो । बाढीले आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति पु¥याएको छ । क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अब नयाँ संरचना राख्ने तयारी भएको बताइएको छ । आयोजनाको बाँधदेखि पावर हाउससम्मको ११ केभी विद्युत् प्रसारणलाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको छ । बाढीले आयोजनाका केही उपकरणसमेत बगाएको थियो ।

आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाले २०७३ असोजदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।