
अपडेट
काठमाडौं, मंसिर २७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ ।
पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।
नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भएको थियो ।
सुरुआतमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका ‘सेभ दी मिसन’ पिताम्बर तिम्सिना, संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहितको टोली न्यूरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमन्डपसम्म पैदल गएको थियो ।
पैदल नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको ब्यान्ड टोली थियो ।
भृकुटीमन्डपबाट टोलीले भ्यानमा नगर परिक्रमा गरेको थियो । भृकुटीमन्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर हुँदै माइतीघर, थापाथलीबाट त्रिपुेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।
पूर्वनिर्धारित् कार्यक्रमअनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।
यही मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यपदक जित्दै दोस्रो भएको थियो । जुन सागमा अहिलेसम्मकै नेपालको उत्कृष्ट प्रदर्शन हो ।
सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोस्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कास्य जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्