–काशीराम शर्मा
बाँके, मंसिर २७ । नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारन टोल । साँघुरो गल्लीभित्र एकै लाइनमा २४ घर छन् । घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको छ ।
घाँस बेच्नु उनीहरूको पुख्र्यौली पेसा हो । घसियारन समुदायका नागरिक शहरका निर्धनमा पर्छन् । उनीहरु शहर आसपास र टाढाटाढा घाँस काट्न जान्छन् । घाँस बेचेर नै रोजीरोटी चलाउने यी समुदायका मानिस घरमा नभएकाले सार्वजनिक शौचालयमा शौच गर्न जान्छन् ।
टोलका कसैका घरमा शौचालय छैनन् । सार्वजनिक शौचालय प्रयोग गरेवापत उनीहरूले महिनाको एक सय ५० तिर्नुपर्छ । टोलका नाममा बनेको शौचालय जान उनीहरुलाई शुल्क तिर्नुपर्छ । सार्वजनिक शौचालयमा परिवार सङ्ख्या हेरेर नभई चुलो गनेर मासिक शुल्क लिने गरिन्छ ।
संगोलमा बस्दै गरेका छोरा छुटिए भने अर्को महिनादेखि उनले पनि शौच गरेको एक सय ५० तिर्नुपर्छ । किनेर खानु त छदैछ, दिसा गर्न पनि पैसा तिर्नुपर्ने बाध्यतामा छन्, घसियारनहरु ।
घसियारनलाई अझ पीडा त केमा छ भने विवाह, मुण्डनलगायतका कार्यक्रम हुँदा बाहिरबाट पाहुना आउँछन् । ती पाहुना आउँदा सार्वजनिक शौचालय प्रयोग गर्छन् । ती आएका पाहुनाको अर्को महिना पैसा तिर्नुपर्छ ।
स्थानीय मखाना घसियारन भन्छन्, “विवाह, मुण्डन भइरहन्छ, त्यसमा सहभागी हुन आएका पाहुनालाई हेरेर अर्को महिना हाम्रो बिलमा पैसा थपिन्छ ।”
उनका अनुसार महिना कटेपछि शौच गरेको एक सय ५० नबुझाउँदा शौचालय जाँदा किचकिच गर्छन् । सात जनाको परिवार रहेको छोटाना घसियारले गत महिनाको दिसा खर्च एक सय ५० तिर्न सकेनन् ।
उनी भन्छन्, “यो महिना मैले तीन सय तिर्नुपर्छ ।” २४ घरका सयभन्दा बढीले शुल्क तिरेर तिनै शौचालय प्रयोग गर्छन् ।” नेपालगञ्ज उपमहानगरपालिकाले घसियारनलाई लक्षित गरेर बनाएको शौचालयमा एकैपटक छ जनासम्म जान मिल्छ ।
घाँस बेचेर गुजारा गर्ने घसियारनहरु अहिले घाँस बेचेर शौचालय जानकै लागि खर्चको जोहो गर्दै आएका छन् । दिनभरि खोजेर ल्याएको घाँस बिक्री नहुनाले उनीहरूमा आर्थिक अभाव बढ्दो छ ।
शहरीकरणले घाँस पाइने ठाउँको अभाव हुँदैछ । घाँस बेचेर गुजारा गर्ने उनीहरू अहिले घाँस बेचेर शौचालय जानका लागि खर्च जुटाउँदै छन् । ३० वर्षीया आशा केवटलाई राति र बिहान निकै सकस पर्छ ।
“कहिलेकाही पालो कुर्दा हैरान हुन्छु”, उनले भन, “एउटै परिवारमा धेरै छौँ । अनि, कसरी छिटो पालो आओस् ।” शौचालयमा फोहरपानी भरिने समस्या भने उस्तै छ । यो समुदायका महिला दिनभरि घाँस खोजेर बेलुका बेच्ने गर्छन् ।
दैनिक मुस्किलले दुई सय आम्दानी हुने उनीहरु बताउँछन् । यो आम्दानीले दैनिक छाक टार्नै उनीहरुलाई मुस्किल हुन्छ । तर उनीहरुलाई शौच गर्नकै लागि पैसा तिर्नुपर्ने बाध्यता भने कायमै छ ।
गुड्डी घसियारनको आठ जनाको परिवारले एउटै कोठामा गुजारा चलाइरहेको छ । “घाँस खोज्न दिनभर लाग्छ”, उनले भने, “बल्लतल्ल कमाएको पैसा खानै ठिक्क छ । कसरी शौचालय बनाउने ?”
नेपालगञ्ज उपमहानगरपालिकाले घसियारनसँग शौच गरेको पैसा नलिएको जनाएको छ । तर नगरपालिकाले पैसा नउठाए पनि वडा कार्यालयले शौचालय सरसफाइका लागि खर्च गर्न एक घरबाट मासिक एक सय ५० लिने गरेको जनाएको छ ।
उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलले त्यहाँको शौचालयलाई ठेक्कामा नलगाएको बताए । वडा ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताले टोल र शौचालयको सरसफाइका लागि पैसा उठाएको बताए ।
“सरसफाइका लागि एक जना स्वीपरलाई खटाएका छौँ, उसलाई मासिक पारिश्रमिक दिन एक घरबाट एक सय ५० उठाउँछौँ”, उनले भने, “त्यो रकम शौचालयको सरसफाइ, मर्मत र पारिश्रमिकमा उतै खर्च हुन्छ, वडामा आउदैन ।”
घसियारनसँग शौचालय बनाउने जग्गा छैन । न त उनीहरुसँग बनाउने क्षमता नै छ । सार्वजनिक शौचालयमा शौच गर्दा पैसा दिनुपर्ने बाध्यता हटाउनुपर्ने घसियारनहरु बताउँछन् ।
दिनभरि कमाएको रकमले पुरुषहरु रक्सी खान्छन् र थोरै घर खर्चका लागि प्रयोग गर्छन् । त्यसैले महिलाको घर सञ्चालनमा जिम्मेवारी बढी हुने गर्छ । व्यवसाय सञ्चालन गर्नेलाई ऋण सहयोग दिन विभिन्न वित्तीय कारोवार गर्ने र सामाजिक संस्था तयार छन् ।
तर ऋण लिएर छुट्टै कारोवार गर्नुभन्दा दिनभरि टाढासम्म गएर घाँस खोजेर ल्याउनमा नै यस समुदायका महिला आनन्द मान्छन् । घाँस बिक्री नभएको दिन उनीहरुलाई दुःख लाग्छ ।
भोलिपल्ट फेरि अघिल्लो दिनको दुःख बिर्सन्छन् र पुरानै दैनिकी दोहोर्याउँछन् । रासस









प्रतिक्रिया दिनुहोस्