१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


‘ए’ डिभिजन लिग शनिबारदेखि, विजेतालाई ५० लाख, कतार एअरवेज मुख्य प्रायोजक


0
Shares

काठमाडौं, मंसिर २६ । शनिबारदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि विजेताले पहिलेजत्ति नै ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

१४ टोलीले सहभागी

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी १४ टोलीले सहभागिता जनाउने प्रतियोगितामा पुरस्कार राशिमा वृद्धि नगरिएको जनाएको हो ।

गत संस्करणको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख र छैटौं हुने टोलीले ५ लाख रुपैयाँ पाएका थिए ।

तयारीवापत् २० लाख

एन्फाले हरेक खेल जित्ने टोलीलाई ‘बोनस’स्वरुप ५० हजार थपेर दिने भएको छ । खेल बराबरी भए समान १५/१५ हजार दिनेछ ।

सहभागी प्रत्येक क्लबलाई एन्फाले तयारीवापत् २० लाख रुपैयाँ दिने भएको छ ।

उत्कृष्ट खेलाडीलाई डेढ लाख

आउँदो फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताका उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले समान डेढ/डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । ‘फेयर प्ले’ क्लबले एक लाख पाउनेछ ।

योपटक एक टोलीमात्र ‘रेलिगेसन’मा पर्नेछ ।

उद्घाटनमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज क्लब भिड्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको उद्घाटन खेलमा मच्छिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् ।

टिकटदर

एन्फाले खेल हेर्न ‘पारापिट’तर्फ २०० र ‘भीआइपी’तर्फ ५०० रुपैयाँको टिकट लाग्ने जनाएको छ ।

टिकटबाट मात्रै कम्तीमा एक करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको पनि एन्फाले जनाएको छ ।

मुख्य प्रायोजक कतार एअरवेज

लिगको मुख्य प्रायोजक कतार एअरवेज हुने भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका मोहम्मद इल इमानबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एन्फाले एक वर्षका लागि कतार एअरवेजसित एक लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो । सम्झौतासँगै हरेक क्लबको जर्सीमा कतार एअरवेजको लोगो राखिनेछ ।

एन्फाले पहिलोपटक लिगका लागि विदेशी कम्पनीसित सहकार्य गरेको हो ।

सम्झौतापछि बोल्दै अध्यक्ष शेर्पाले नेपाली लिगलाई उचाइमा पुर्‍याउन कतार एअरवेजले सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।