
काठमाडौं, मंसिर २६ । म्यानमारकी नेतृ आङ साङ सू चीले आफ्नो देशका सुरक्षाकर्मीले अल्पसङ्ख्यक रोहिंग्या मुसलमानविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गरेकीस छिन् ।
द हेगमा अवस्थित इन्टरन्याश्नल कोर्ट अफ जस्टिसमा सम्बोधन गर्दै नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेतृ सू चीले लाखौँलाई रखाइन राज्य छाड्न देशभित्रको आन्तरिक सशस्त्र द्वन्द्वले बाध्य पारेको जिकिर गरिन् ।
उनले म्यानमारका सुरक्षा निकायले असमानुपातिक किसिमले बल प्रयोग गरेको हुन सक्ने भने स्वीकार गरिन् ।
तर त्यसमा नरसंहारको उद्देश्य नरहेको उनको भनाइ थियो । आङ सान सू चीले प्रत्यक्षदर्शीले आफ्नो बयानमा उल्लेख गरेका आमहत्या, सामूहिक बलात्कार र नाबालिगहरूलाई भवनमा आगजनी गरिएका विषयमा भने केही उल्लेख गरिनन् ।
म्यानमारविरुद्धको मुद्दा द गाम्बीयाले अदालतमा ल्याएको थियो । उसले मुद्दाको सुनुवाइ सम्पन्न नभएसम्म रोहिंज्याहरूलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने माग गरिरहेको छ ।
आफ्नो शुरूवाती सम्बोधनमा उनले म्यानमारविरुद्धको मुद्दा अपूरो र गलत भएको उल्लेख गरिन् । रोहिंग्याहरूको बसोबास रहेको रखाइन राज्यमा भइरहेको समस्या शताब्दिऔँदेखि अस्तित्वमा रहेको सू चीको दाबी थियो ।
बौद्ध धर्मावलम्वीहरूको बाहुल्य रहेको म्यानमारमा सन् २०१७ मा सैनिक कारबाहीमा हजारौँ रोहिंज्याहरू मारिएका थिए भने सात लाखभन्दा बढी भागेर छिमेकी बाङ्ग्लादेश पुगेका थिए ।
म्यानमारले आफूले सधैँ रखाइन राज्यमा रहेको उग्रवादीहरूको जोखिमसँग जुधिरहेको बताउने गरेको छ । सू चीले अदालतमा त्यही अडान दोहोर्याइन् ।
हिंसालाई देशको ’आन्तरिक द्वन्द्व’ भन्दै रोहिंग्या उग्रवादीहरूले सरकारी सुरक्षा पोष्टहरूमा आक्रमण गरेपछि हिंसा निम्तिएको उनको भनाइ थियो ।
सुरक्षाकर्मीहरूले बल प्रयोग गरेको हुन सक्ने उल्लेख गर्दै सू चीले युद्ध अपराधमा दोषी ठहर भए सैनिकहरूलाई कारबाही गरिने प्रतिवद्धता जनाइन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्