
काठमाडौं, मंसिर २५ । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरुसामु सम्बोधन गर्दै स्वर्णपदक विजेतालाई जनही ९ लाख, रजतपदक विजेतालाई जनही ६ लाख तथा कास्यपदक विजेतालाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघका पदाधिकारीहरुलाई बधाइसमेत दिएका छन् ।
टिम खेलका स्वर्णपदक विजेतालाई जनही पाँच लाख रुपैयाँ दिने बताइएको छ ।
एकभन्दा बढी स्वर्णपदक जित्नेहरुले भने ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
‘एउटाभन्दा बढी स्वर्णपदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन्’–प्रधानमन्त्री ओलीले भने ।
यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको छ ।
प्रतिक्रिया दिनुहोस्