३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


अर्घाखाँचीमा लोप हुन लागेका सामग्रीको संरक्षण गर्न संग्रहालय


0
Shares

 सागर महत/ईमेज

अर्घाखाँची, मंसिर २४ । सन्धिखर्क नगरपालिकास्थित बाङ्गगलामा पुराना पुस्ताले प्रयोग गरेका सामाग्रीको संग्रहालय स्थापना गरिएको छ ।

संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना सामग्रीहरुको संरक्षण गरिने छ । अर्घाखाँचीका पत्रकार निमबहादुर रिजालको सक्रियतामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –४ वाङ्गलामा बैकुण्ठपुरी संग्रहालय स्थापना भएको छ ।

जहाँ जिजु–बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका पुराना सामाग्रीहरु राखिएको छ । जसमध्ये कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, ओखल, ढिकी, काठको चम्चा, जाँतोलगायतका दर्जनौँ वस्तुहरु राखिएको छ ।

यस्ता सामाग्रीको संरक्षणमा लागेको संरक्षक निमबहादुर रिजालको भनाइ छ । संग्रहालयमा पानी आउँदा ओड्ने सेउ, धर्मशालामा राखिएको आरी, डाला, तमाखु खादा प्रयोग गरीने हुक्का बाँसको काइँयो पुराना टेप, रेडियोे, भजनमा गाउन प्रयोग गरिने खैजडीलगायतका सामाग्री राखिएको छ ।

संग्रहालयका लागि प्रदेश नम्बर ५ सरकारले ४ लाख ४२ हजार आर्थिक सयोग गरेको थियो । अहिले संग्रहालयमा दैनिक १०० जनाको हाराहारीमा मानिसहरु अवलोकनका लागि आउने गरेका छन् ।

पुराना र लोप हुने अवस्थाका सामाग्री देख्दा अनौँठो र विगतको सम्झना हुने गरेको स्थानीय युवा लक्ष्मण खड्का बताउँछन् ।

पहिले पहिले प्रयोग गरेका सामग्रीहरुलाई संरक्षण गरिएकाले यसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

गाउँघरमा कतै कतै भेटिने यस्ता सामाग्री पुर्खाले आफ्ने सीप र ज्ञानबाट बनाएका बैकुण्ठपुरी संग्रहालय संरक्षणका लागि सरकारले पनि पहल गर्नुपर्ने देखिन्छ ।