१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


आर्चरीमा नेपाललाई एक रजत र दुई कास्यपदक


0
Shares

पोखरा, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् आर्चरी सम्पन्न भएको छ ।

सोमबार पोखरामा सम्पन्न आर्चरीमा नेपालले एक रजत र दुई कास्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ ।

नेपालले कम्पाउन्ड (५० मिटर) मिक्स्डतर्फ रजतपदक प्राप्त गरेको हो ।

आर्चरीमा नेपालले १२औं सागमा भने एउटामात्र कास्यपदक जितेको थियो ।

आर्चरीमा सबै १० ओटै स्वर्णपदक बंगलादेशले जित्न सफल भएको छ । यसपटक बलियो टोली भारत सहभागी नभएपछि सबै स्वर्णपदक बंगलादेशले जितेको हो ।

सोमबार रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्वको दशौं वरीयताभित्र पर्न सफल खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् ।

सोही स्पर्धाको महिलातर्फ बंगलादेशकी १४ वर्षकी उदीयमान खेलाडी आतुन एमएसटी इटिवाइले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्णपदक जितिन् ।

त्यसैगरी, कम्पाउन्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेन्डीङलाई पराजित गर्दै स्वर्णपदक जिते ।

सोही स्पर्धाको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्णपदक जितिन् ।

बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफूहरुले सागका लागि ६ महिनादेखि बन्द प्रशिक्षण गरेकाले उत्कृष्ट नतिजा आएको बताए ।

दुई वर्षदेखि बंगलादेशको टोली प्रशिक्षण गराउँदै आएको बताएका उनले आफूहरुसित विश्व च्याम्पियनसिपमा कास्यपदक विजेता साना, कक्षा–८ मा अध्ययनरत् १४ वर्षीया खातुनजस्ता उदीयमान खेलाडी रहेको बताए ।

नेपाल, बंगलादेश, श्रीलंका र भुटान सहभागी प्रतियोगितामा भुटान पुछारमा रह्यो ।

पाकिस्तानले अन्तिम समयमा सहभागी नहुने जनाएपछि खेल एक दिन ढिला गरी गएको शुक्रबार सुरु भएको थियो ।