
चितवन, साउन १५ । नेपाली कांग्रेस चितवनले सरकारविरुद्ध मंगलबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ ।
भतरपुरको चौबिसकोठीबाट सुरु भएको प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
कोणसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारको क्रियाकलापले नै कांग्रेसलाई आन्दोलन गर्न बाध्य बनाएको बताए ।
‘छोटो समयमै सरकारको विरोध गर्न मन थिएन । तर, अधिनायकवाद शैलीमा जनतालाई मारमा पार्ने काम गरेपछि बाध्य भएर सडकमा उत्रिएका हौं’–उनले भने ।
यस्तै, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले ‘कांग्रेस सिद्धियो’ भन्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनको प्रदर्शन हेर्न चेतावनी दिए ।
उनले भने–‘जसको बुइ चढेर पार्टी सकिनबाट जोगाएको छ, उसैलाई अब पार्टी सकियो भन्ने ?’
सभामा प्रदेश सांसद गीता वाग्ले, कांग्रेस जिल्ला सचिव उत्तम जोशीलगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसले मंगलबार ७७ ओटै जिल्लामा एकसाथ सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्