१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


बंगलादेशलाई हराउँदै नेपाल पुरुष फुटबलको फाइनलमा


0
Shares

काठमाडौं । नेपालको पुरुष फुटबल टिम १३ औं सागको फाइनलमा पुगेको छ ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल १० अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनील बलले गोल गर्दै नेपाललाई जिताएका हुन् ।

खेलको अन्तिम समयमा भने बंगलादेशका कप्तान जमल भुइया आक्रामक बन्दै नेपाली खेलाडीलाई मुक्का हान्न पुगेपछि रेफ्रीले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड देखाउन पुगेका थिए ।

हारले बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा रहँदै कास्यपदकमै समेटिएको छ । भुटान ९ अंकसहित दोस्रो हुँदै पहिलो पटक फाइनलमा पुगेको छ ।

पाँच टोली सहभागी भएको फुटबलका खेलहरु राउण्ड रोबिन लिगको आधारमा भएको खेलमा भुटानले नेपालसंग ४-० को हार बेहोरेको थियो ।

श्रीलंका र माल्दिभ्स भने पदकको होडबाट बाहिरिएका थिए । स्वर्ण भिडन्त मंगलबार हुनेछ । साविकको स्वर्णविजेता नेपाल लगातार तेस्रो पटक सागको फाइनलमा पुगेको हो ।

यता, महिलातर्फको स्वर्ण भिडन्तमा सोमबार पोखरा रंगशालामा नेपाल र भारत भिड्दै छन् ।

यसअघिका दुवै संस्करणमा पनि फाइनलमा पुगेको नेपाललाई भारतले हराएको थियो ।

राउन्ड रोविन लिगमा भारतले नेपाललाई १-० ले पराजित गरे पनि फाइनल जितेर  स्वर्णपदक जित्ने दावी नेपाली खेलाडीहरुले गरेका छन् ।