१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


आर्चरीमा नेपालले एक रजतसहित तीन पदक जित्यो


0
Shares

काठमाडौं । १३ औं सागको आर्चरीमा नेपालले एक रजतसहित तीन पदक जितेको छ ।

पोखरामा जारी आर्चरीको कम्पाउण्ड (५० मिटर) मिक्स्डतर्फ नेपालले रजत पदक जितेको हो ।

आइतबार भएको फाइनलमा बंगलादेशसंग ८ अंकको अन्तरले पराजित हुँदै नेपाल रजतमा सीमित भएको हो ।

नेपालले १ सय ४० अंक ल्याउँदा बंगलादेशले १ सय ४८ अंक ल्यायो । नेपाली टिममा इमायुङ राई र शान्त मल्ल रहेका थिए ।

यो स्पर्धामा श्रीलंकाले कास्य जित्यो । १० वटा स्वर्ण पदकका लागि जारी आर्चरीमा आइतबारसम्म ६ वटा स्वर्णपदकको छिनोफानो लागेको छ ।

सबै स्वर्णमा बंगलादेशले कब्जा जमाएको छ । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स्डतर्फ स्वर्ण पदक जितेको हो ।

कम्पाउण्ड पुरुषतर्फ नेपालले कास्य पदक जित्यो । नेपालले कास्य भिडन्तमा श्रीलंकालाई एक अंकले पराजित ग¥यो ।

नेपालले २ सय ८ अंक ल्याउँदा श्रीलंकाले २ सय ७ अंक ल्याएको थियो । नेपालको टिममा मिनप्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेका थिए ।

कम्पाउण्ड महिलातर्फको खेलमा नेपालले सीधै बाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको हो ।

यस स्पर्धामा भुटान सहभागी नभएसंगै नेपाललाई सहज कास्य पदक प्राप्त भएको हो । नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेका थिए ।

त्यसैगरी कास्य पदकका लागि रिकर्भ पुरुषतर्फको विधामा भुटानसंग समान अंक भए पनि नियरेष्ट द प्वाइन्टका आधारमा नेपाल पराजित भएको छ ।

नेपाल र भुटानको समान २८ अंक रहेको थियो । नेपाली टिममा तिकल पुन मगर, रोशन नगरकोटी र अशिम शेरचन रहेका थिए । यो विधामा बंगलादेशले श्रीलंकालाई पराजित गरी स्वर्ण जित्यो ।

रिकर्भ महिलातर्फको खेलमा पनि नेपाल कास्यपदकको लागि भुटानसंग भएको खेलमा २ अंकले पराजित भयो ।

नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेका थिए । रिकर्भ मिक्स्ड टिममा पनि नेपालले कास्य पदक प्राप्त गर्न चुक्यो ।

कास्य पदकको लागि भएको खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको हो । नेपाली टिममा आइषा तामाङ र रोशन नगरकोटी रहेका थिए ।

नेपालसहित ४ देश सहभागी आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ ।