Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


अफगानिस्तानमा तालिबानले गर्‍यो राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने


0
Shares

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेको जनाइएको छ ।

अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्दै शासन थाल्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकी सेनाले छाडेको ४५ दिनमै तालिबानले पूरै अफगानिस्तान कब्जामा लिएको हो ।

अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ शहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहे पनि शहरमा लुटपाट हुन नदिन लडाकुलाई शहर पस्न अनुमति दिएको थियो ।

तालिबान प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दालाई नडराउन भन्दै बदला नलिने बचन दिएका छन् ।

विदेशी कूटनीतिक नियोगका कार्यालय र तिनका अधिकारीहरुमाथि पनि केही नगरिने भन्दै तालिबानले सुरक्षा सुनिश्चितता हुने बताएका छन् ।

उता, अन्तर्राष्ट्रिय विमानस्थलमा भने अफगानिस्तान छाड्नेहरुको भागदौड चलेको छ । तालिबानले देश कब्जा गरेपछि त्रासमा जीवन जोगाउन अफगानिस्तान छाड्न चाहनेहरुको रुवावासी पनि चलेको छ ।