काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिई यथास्थितिमा रुमल्लिए आफ्नो पार्टीको औचित्य समाप्त हुने विश्लेषण सुनाउनु भएको छ ।
जारी केन्द्रीय समिति बैठकलाई संवोधन गर्दै उहाँले यस्तैमा रुमल्लिए विश्वका अन्य कम्युनिस्ट पार्टीहरू जस्तै माओवादी केन्द्र पनि पतन हुने टिप्पणी गर्नुभयो । वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुने प्रचण्डको भनाइ थियो ।
माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएकाले त्यही दिशातिर गइरहेको उहाँको विश्लेषण छ । जनयुद्धकालमा जोखिम उठाएकाले अनुभवका आधारमा अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग मात्र रहेको दाबी पनि प्रचण्डले गर्नुभयो ।
उहाँले हतारमा लेखिएको राजनीतिक प्रतिवेदन आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि आधार हुने स्पष्टिकरण दिनुभयो । यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गर्दै पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने घोषणा गरेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने उल्लेख गर्नुभयो । यसैबीच ६–बुँदे समसामयिक प्रस्ताव पारित गर्दै केन्द्रिय कमिटी बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्