१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


बिच भलिबलमा नेपालको मिश्रित परिणाम


0
Shares

पोखरा । १३ औं साग अन्तर्गत बिच भलिबलमा नेपालले आज(शनिबार) मिश्रित परिणाम ल्याएको छ ।

पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार ब्यहोर्‍यो ।

मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो ।

मान र दिलको जोडीले अर्को खेलमा पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीसँग २१–१९, १५–२१ र १०–१५ को सेटमा पराजय ब्यहोर्‍यो ।

नेपालका राजु विक र सन्जु शाहको जोडी माल्दिभ्सका एडम नसीम र मोहम्मद अलिको जोडीसँग १९–२१, २१–१८ र १५–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो ।

अर्को खेलमा राजु र सन्जुको जोडीलाई श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडीले २१–१५ र २१–१० को सेटमा हरायो ।

लिग चरणको खेलमा हालसम्म पुरुषतर्फ समूह ‘ए’ मा श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडी ८ अंकसहित शीर्ष स्थानमा छ ।

पाकिस्तानको जस्नव खान र अफाख खानको जोडी ७ अंकसहित दोस्रो र मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी ६ अंकसहित तेस्रो स्थानमा छन् ।

समूह ‘बी’ तर्फ श्रीलंकाकै प्रदीप असंका र असेन कुमाराको जोडीले ८ अंकसहित शीर्ष स्थान ओगटेको छ ।

पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडी ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालको राजु विक र सन्जु शाहको जोडी ५ अंकसहित चौंथो स्थानमा छ ।

महिलातर्फ आज पनि दुई खेल मात्रै भए । पहिलो खेलमा श्रीलंकाका दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–८ र २१–१० को सहज जित निकाल्यो ।

दोस्रो खेलमा श्रीलंकाकै लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीले जेनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–५ को सेटमा हरायो ।

तीन देशमात्रै सहभागी महिलातर्फ समूह ‘ए’ र ‘बी’ दुबैमा श्रीलंकाका टिम शीर्ष स्थानमा छन् ।

नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी समूह ‘ए’ र कोपिला उप्रेती र मनीषा चौधरीको जोडी समूह ‘बी’ मा दोस्रो स्थानमा छन् ।