१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


गोर्खा सैनिकको सत्याग्रहमा बेलायतको विपक्षी दल लेबर पार्टीको ऐक्यबद्धता


0
Shares

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । अहिले गोर्खा सैनिकहरु समान पेन्सनको माग गर्दै आन्दोलित बनिरहेका छन् ।

गोर्खा सैनिकका तीन जना अगुवाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालयअगाडि ६ दिनदेखि आमरण अनशनमा छन् । उहाँहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका धन गुरुङ, पुष्पा राना र ज्ञानराज राई लन्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा हुनुहुन्छ ।

लेबर पार्टीका छाया रक्षामन्त्री स्टेफन मोर्गनले गोर्खा आन्दोलनको हरेक पाइलामा आफ्नो पूर्ण समर्थन रहने बताउनुभयो । भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनलगायत सुविधामा गरिएको भेदभाव तत्काल सच्याउन पनि उहाँले माग गर्नुभयो ।

सन् १९९७ अघि अवकाश पाएका गोर्खाहरूले समान पेन्सनलगायतका सुविधा पाएका छैनन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको कभरेज, बेलायती प्रमुख प्रतिपक्ष दल लेबर पार्टीको ऐक्यबद्धता र विभिन्न संघसंस्थाको दबाबबीच पनि बेलायत सरकारले गोर्खाका मागबारे मुख खोलेको छैन ।

बेलायतले गोर्खाहरूको योगदानप्रति सधैं सम्मान गर्ने र उनीहरूलाई भेदभाव नगरिएको बताउँदै आएको छ । यसअघि बेलायत सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको पेन्सनबापत वार्षिक १ सय २० मिलियन पाउन्ड (करिब २० अर्ब रुपैयाँ) भुक्तानी गरिरहेको बताएको थियो ।