१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘जलपरी’ गौरिकाले जितिन् अर्को स्वर्ण


0
Shares

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पौडीमा नेपालले अर्को स्वर्णपदक जितेको छ ।

नेपालकी ‘जलपरी’ गौरिका सिंहले लगातार दोस्रो स्वर्णपदक जितेकी हुन् ।

शुक्रबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको २०० मिटर ‘ब्रेस्ट स्ट्रोक’मा गौरिकाले स्वर्णपदक जितिन् ।

गौरिकाले निर्धारित् दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेन्डका साथ रजत र श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेन्डमा दूरी सकाउँदै कास्य जितिन् ।

यसअघि, बिहीबार २०० मिटर ‘फ्रिस्टाइल’मा स्वर्णपदक जित्दै गौरिका सागमा स्वर्ण जित्ने व्यक्तिगततर्फ पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनले निर्धारित् दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गरेकी थिइन् ।

आठौं सागमा नयना शाक्य, रुविना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्णपदक जितेका थिए ।

पौडीमा बिहीबार नेपालले थप एक रजत र एक कास्यपदक पनि जितेको थियो ।

२०० मिटर ब्रेस्ट स्ट्रोकमा दुअना लामाले रजत तथा गौरिका, दुअना, तिसा शाक्य र अनुसिया तण्डुकार रहेको ४०० मिटर ‘फ्रिस्टाइल रिले’मा नेपालले कास्य जितेको हो ।