
पोखरा, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को भारोत्तोलनमा नेपालले दोस्रो स्वर्णपदक जितेको छ ।
शुक्रबार विकास थापाले नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।
पोखरामा भएको खेलको ८९ केजी तौल समूहमा विकासले स्न्याचतर्फ १२३ तथा क्लिन एन्ड जर्कतर्फ १४६ केजी तौल भारवहन गर्दै स्वर्ण जितेका हुन् ।
एक केजी कम तौल भारवहन गरेका बंगलादेशका खेलाडीले रजतपदक जिते ।
कमलबहादुर कास्यमै सीमित
कीर्तिमानी नेपाली खेलाडी कमलबहादुर अधिकारी भने कास्यपदकमा सीमित भएका छन् ।
यसअघिको सागमा स्वर्णपदक जितेर स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडी बनेका कमल यसपटक कास्यमै समेटिएका हुन् ।
शुक्रबार पुरुष ६७ केजी तौल समूहको प्रतिस्पर्धामा कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० केजी तौल भारवहन गरेका हुन् ।
२९२ केजी तौल उठाएका पाकिस्तानी खेलाडी ताल्हा तालिबले स्वर्ण जित्दा श्रीलंकाका जेएसी लाक्मलले २६३ केजी तौल उठाउँदै रजत जिते ।
शुक्रबार नै भएको पुरुष ७३ केजी तौल समूहमा नेपालका प्रकाश केसीले कास्यपदक जिते । प्रकाशले २६५ केजी तौल उठाए । भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत जिते ।
यसअघि, बिहीबार नेपालले भारोत्तोलनमा एक स्वर्ण र दुई कास्यपदक जितेको थियो ।
सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा स्वर्णपदक जितेर महिलातर्फ भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।
तुलाराम महतोले ५५ केजी तौल समूहमा र संगीता राईले ४५ केजी तौल समूहमा कास्य जितेकी हुन् ।
नेपालले जारी सागमा भारोत्तोलनमा दुई स्वर्ण र ४ कास्यपदक जितिसकेको छ ।
योपटक भारोत्तोलनमा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ । महिला र पुरुषतर्फ १०/१० तौल समूहमा प्रतिस्पर्धा भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्