
काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् उसुमा बिहीबार नेपालले दुईओटा स्वर्णपदक जितेको छ ।
बिहीबार साँझ लगनखेलस्थित आर्मी कभर्डहलमा भएको खेलमा ‘सान्डा सान्सो’मा जुनी राईले स्वर्णपदक जितिन् ।
जुनीले ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । फाइनलमा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराइन् ।
बिहीबारै बिहान भएको खेलमा निमा घर्तीमगरले स्वर्णपदक जितेकी थिइन् ।
लगनखेलस्थित आर्मी कभर्डहलमै भएको ‘नान्दाओ अलराउन्ड’मा निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् ।
निमाले १८.९१ अंक ल्याउँदा अख्तरले १६.३ अंक जोडिन् ।
उसुमा नेपालको स्वर्णपदकको संख्या पाँच पुगेको छ ।
पहिलो दिन विशाल सिंजाली र सुष्मिता तामाङ तथा दोस्रो दिन दीपक हमालले स्वर्ण जितेका थिए ।
उसुकै ‘ताइजीजियान अलराउन्ड’मा मीना ग्लानले रजतपदक जितेकी छन् ।
त्यस्तै, पुरुषको ‘गुन्सु अलराउन्ड’मा विश्व बुढामगरले रजत जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्