Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नेपाल ३६ स्वर्णसहित दोस्रो स्थानमा, ‘साग’को एकै संस्करणमा अहिलेसम्मकै बढी (अपडेट)


0
Shares

काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्णतालिकामा नेपाल दोस्रो स्थानमा रहेको छ ।

सुरुआती दिनमा अग्रस्थानमा रहेको नेपाललाई भारतले पछि पारेको हो ।

नेपालले अहिलेसम्म ३६ ओटा स्वर्णपदक जितेको छ ।

सोमबार १५, मंगलबार ८ र बुधबार ६ स्वर्ण जितेको नेपालले बिहीबार साइक्लिङ र उसुमा दुई/दुई तथा पौडी, तेक्वान्दो र भारत्तोलनमा एक/एक स्वर्णपदक जितेको छ ।

तेक्वान्दोको ८७ केजीमुनि तौल समूहमा भूपेन श्रेष्ठले स्वर्णपदक जिते ।

त्यस्तै, पौडीमा गौरिका सिंहले नेपाललाई स्वर्णपदक दिलाएकी छन् । पौडीको ‘इन्डिभिजुअल’मा नेपालले पाएको यो पहिलो स्वर्णपदक हो ।

साइक्लिङको क्रसकन्ट्री महिलामा लक्ष्मी मगर र पुरुषमा बुद्धिबहादुर तामाङले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्यस्तै, उसुमा निमा घर्तीमगर र जुनी राईले स्वर्ण दिलाइन् ।

भारोत्तोलनमा जुनी राईले स्वर्णपदक दिलाउन सफल भइन् ।

योसँगै नेपालले अहिलेसम्मको सागमा एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बनाएको छ ।

नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा ३१ ओटा स्वर्ण जितेको थियो ।

नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १०७ पुगेको छ ।

१३औं सागमा अहिलेसम्म ५७ ओटा स्वर्णपदक जित्दै भारत शीर्ष स्थानमा रहेको छ ।